आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कृषकका लागि नगरपालिकाको ‘कल सेन्टर’


  • आफ्नै खबर
  • २०८१ माघ १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • बागलुङ/  बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । 

    माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा. अच्युत आचार्यले जानकारी दिनुभयो । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उहाँको भनाइ छ । 

    आचार्यले भन्नुभयो, ‘जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल ‘फिल्ड’मा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई फोन गर्नु हुनेछ ।

    नगरपालिकाबाट प्राविधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउनेछन् । अहिले हामीले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेका छौँ, अब छिट्टै २४सै घण्टा सेवा दिनेगरी तयारी गरिरहेका छौँ ।’

    किसानले प्राविधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकलाई टेलिफोनका माध्यमबाट प्रावधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उहाँको भनाइ छ ।

    किसान ‘कल सेन्टर’ स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउनुहुन्छ । 

    किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि तथा पशुसम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्या तथा क्षति समाधानका उपाय, सूचना एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु