आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

जिल्ला अस्पतालमै एपेन्डिसाइटिसको शल्यक्रिया सुरु


  • आफ्नै खबर
  • २०८१ चैत्र १०, आईतबार मा प्रकाशित १0 महिना अघि
  • ३ पाठक संख्या
  • रसुवा/  रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ । ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा. सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

    उक्त संस्थाले विशेषज्ञ चिकित्सक उपलब्ध गराएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ । रसुवा जिल्ला अस्पतालले सोही संस्थाको सहयोगमा १८ जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरी सुत्केरी गराएको जनाएको छ ।   

    विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा. दासले बताउनुभयो ।

    पहिले ‘बुस्कोपान’ नामक दुखाई कम गर्ने ‘इन्जेक्सन’ दिइ काठमाडौँ पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेपछि रसुवावासीको खुशीको सीमा नरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

    यसैगरी पाठेघरको नलीमा गर्भ बस्न गई जोखिममा परेकी २८ वर्षीया एक महिलालाई पनि गत शुक्रबार नै सफलतापूर्वक शल्यक्रिया गरिएको रसुवा अस्पतालले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु