आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

विदेशबाट फर्केर बगरमा तरबुजाखेती


  • आफ्नै खबर
  • २०८१ चैत्र १९, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • ५ पाठक संख्या
  • दाङ/  लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आउनुभयो । यहाँ आएपछि के काम गर्ने भन्ने उहाँलाई अन्योल थियो । 

    साउदीमा पानीको मात्रा धेरै भएको र माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौ भन्ने सोचाइ आएको उहाँले बताउनुभयो । 

    नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि बगरमा तरभुजाखेती गरेको उहाँले बताउनुभयो । लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिनमा तरभुजाखेतीले हराभरा भएको छ । 

    नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलको भनाइ छ ।  

    उहाँ नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्न युवाहरुलाई सल्लाह दिनुहुन्छ । युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उहाँको भनाइ छ । 

    पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि खटेर काम गर्ने गरेको उहाँँले बताउनुभयो । लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उहाँ बताउनुहुन्छ ।  

    सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरभुजाखेतीमा लाग्नुभएको छ । उहाँ चार वर्ष दुबई बसेर फर्केर स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरबुजाखेतीमा जोडिनुभएको छ । 

    फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्य सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी खेती सञ्चालन गरेको उहाँले बताउनुभयो ।

    लमहीमा रहेको उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरबुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गर्नुभयो र जग्गा उपलब्ध गराएको हो ।’ 

    गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरभुजा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो ।  प्रतिबिघा चार लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी हुने आशा रहेको उहाँले सुनाउनुभयो । 

    मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरबुजा रोपण गरिएको छ । मल्चिङ प्रविधिबाट दाङमा खरभुजा खेती हुने गरेको छैन यो नै पहिलो अभ्यास गरेको उहाँले बताउनुभयो । 

    हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरि छ जातको तरभुजा रोपिएको छ । छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरबुजाखेती गरेको उहाँले बताउनुभयो ।

    उत्पादन भएको तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवल लगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उहाँले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उहाँको धारणा छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु