आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

शोकमा साथ दिँदै सुन्दरबजार


  • आफ्नै खबर
  • २०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • ४ पाठक संख्या
  • लमजुङ/  स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ ।

    पालिकाले २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म एक सय ३५ जनाले सुविधा लिएका छन् । नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछि मलामीसहितको शववाहन उक्त घरमा पुर्याउने गरिएको छ ।

    संस्कार गरिसकेपछि पुनः मलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ । यो सेवा मृतकको अन्त्येष्‍टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शववाहनमा मलामीका लागि बसलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो । यस सेवाले शोकमा परेका परिवारलाई केही राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ । 

    नगर प्रमुख कृष्णप्रसाद कोइरालाले सामाजिक उत्तरदायित्वको भावनाले यस कार्यक्रम सुरु गरिएको बताउनुभयो । मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न मलामीसहितको शववाहन सेवा सुरु गरेको उहाँको भनाइ छ ।

    नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउन तयारी गरिरहेको जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु