आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

एउटै ढुङ्गामा ८४ फिट अग्लो बुद्धको प्रतिमा बन्दै


  • आफ्नै खबर
  • २०८२ भाद्र ४, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ४ पाठक संख्या
  • सिन्धुपाल्चोक/  पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । 

    गाउँपालिकाको वडा नं. ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताउनुभयो । 

    पालिकाले गौरवको योजनाका रूपमा चार वर्ष अघि प्रतिमा निर्माण सुरु गरेको हो । उहाँले भन्नुभयो, ‘प्रतिमा निर्माण एउटै ढुङ्गाबाट भइरहेको छ, हाल बुद्धको शिर निर्माण सकिएको छ ।’ 

    अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत तीन करोड रुपैयाँ छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘सामान्यतया प्रतिमा निर्माण ढुङ्गाका टुक्रा जोडेर  निर्माण गरिन्छ । तर, हामीले एउटै ढुङ्गाबाट प्रतिमा निर्माण गरिरहेका छौँ ।’

    यहाँको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीयको आर्थिक समृद्धिमा टेवा पुर्याउन र पाँचपोखरी थाङ्पाललाई आध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको उहाँको भनाइ छ । अध्यक्ष लामाले प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्नेहरूको नाम शिलामा लेखिने बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु