आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

‘पेन्सन पाक्नुनै जीवनको उर्जा सकिनु होइन’


  • आफ्नै खबर
  • २०८२ भाद्र ४, बुधबार मा प्रकाशित ५ महिना अघि
  • ३ पाठक संख्या
  • झापा/  २५ वर्ष प्रहरीमा सेवा गरेर निवृत्त भएपछि कचनकवल गाउँपालिका–६ कार्कीझोडाका पदम गौतम (खत्री) ले पेन्सन पाक्नुनै जीवनको उर्जा सकिनु नभएको प्रमाणित गर्नुभएको छ । उहाँले जीवनको दोस्रो अध्यायको रुपमा व्यावसायिक कृषि कर्म सुरु गर्नुभएको छ । 

    २०७४ सालमा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताउनुभयो । उहाँले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा एभोकाडोखेती सुरु गर्नुभएको छ । 

    दुई वर्षको अवधिमा उहाँले ड्रागन फ्रुटखेतीबाट वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्न थालेका बताउँदै भन्नुभयो, ‘कुरिलोखेतीले तीन वर्षमा दुई लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी दिएको छ ।’

    कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताउनुभयो । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उहाँको भनाइ छ । 

    ‘अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्’, उहाँले भन्नुभयो, ‘तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।’

    बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताउनुभयो । ‘स्थानीय बजारको अभाव छ’, उहाँले भन्नुभयो, ‘उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ ।’

     उहाँले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने भएकाले ठूला बजारमा पुर्याउनुपर्ने बाध्य रहेको उल्लेख गर्नुभयो ।

    गौतमले ५० वटा एभोकाडोका बिरुवा परीक्षणका रूपमा रोप्नुभएको छ । यसबाट तत्काल आम्दानी नभए पनि भविष्यमा सम्भावना रहेको उहाँको बुझाइ छ । कृषिलाई थप व्यावसायिक बनाउन उहाँले गत वर्ष कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ अनुदान लिएको जनाउँदै उक्त रकम पर्याप्त नभएको बताउनुभयो ।

    कुरिलो फागुनदेखि सुरु भई करिब ६ महिनासम्म निरन्तर उत्पादन हुने भएकाले बजार सम्भावना प्रशस्त रहेको गौतमको भनाइ छ । माग बढी भए पनि प्रशोधन र भण्डारण प्रणालीको अभावमा किसान मारमा परेका उहाँले बताउनुभयो ।

    कृषिजन्य उत्पादनलाई मूल्य सुनिश्चितता दिने नीति, प्रशोधन र भण्डारण प्रणालीको विकास तथा सहुलियत ऋण योजनामा तीनै तहको सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    प्रहरी सेवामा जीवनको महत्त्वपूर्ण समय बिताउनुभएका गौतम अहिले माटोसँग जोडिँदै ‘सुरक्षित भविष्य कृषिमै छ’ भन्ने विश्वाससहित आत्मनिर्भरता र व्यावसायिक सम्भावनाको बाटोमा अघि बढिरहनुभएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु