आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

निजी क्षेत्रको मनोबल बढाउन सरकारले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल


  • आफ्नै खबर
  • २०८२ कार्तिक २३, आईतबार मा प्रकाशित ४ महिना अघि
  • १७ पाठक संख्या
  • काठमाडौँ/ निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ । महासङ्घले शनिबार आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताउनुभयो । 

    “दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवा पुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो”, उहाँले भन्नुभयो, “सरकारले यसतर्पm प्रयास गरिरहेको पनि छ । हामी निजीक्षेत्र पनि सम्पूर्ण रुपमा शान्ति स्थायित्व र समृद्धिका लागि समयमै निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछौँ । यसमा निजीक्षेत्र सहयोग र सहकार्य गर्न तयार छ ।”
        
       अर्थमन्त्री रामेश्वर खनालले हालैको एक कार्यक्रममा निजीक्षेत्र भनेको फल दिने वृक्ष हो भनेको स्मरण गर्दै  अध्यक्ष ढकालले यसलाई थप मलजल गरी बढीभन्दा बढी फल दिनेगरी संरक्षण गर्न सकियो भने मात्रै मुलुकले अधिकतम लाभ लिनसक्ने र मुलुक समृद्ध बन्ने बताउनुभयो ।  युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको समयमा  निजीक्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको उहाँको भनाइ छ । 

    महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा रु ४८ अर्बको भौतिक क्षति भएको र यसबाट निजी क्षेत्रको करिब रु ८८ अर्ब बराबार नोक्सानी भएका उहाँको भनाइ छ । आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नहुने हो भने दण्डहीनता मौलाउने उल्लेख गर्दै उहाँले दोषीलाई कुनै पनि नाममा प्रश्रय दिन नहुनेमा जोड दिनुभयो । 
        
        उहाँले नेपालमा केही पनि हुँदैन र नेपालको लगानीले केही पनि गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य चिर्नका लागि महासङ्घको पहलमा नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श र गैरआवासीय नेपाली सङ्घ सदस्य एवं अन्य व्यवसायीको संलग्नतामा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना भएको पनि उल्लेख गर्नुभयो । 

        

    प्रतिक्रिया दिनुहोस

    पर्यटनमार्फत संस्कृति जोगाउँदै आठपहरिया समुदाय


  • आफ्नै खबर
  • २०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ४ महिना अघि
  • १७ पाठक संख्या
  • धनकुटा/  धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ ।

    सङ्ख्याका हिसाबले सानो तर सांस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । अरुण र तमोर नदीको बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको यो सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ यतिबेला पर्यटनमार्फत समृद्धि खोजिरहेको छ । 

    नेपालको जनगणना, २०७८ अनुसार आठपहरिया समुदायको सङ्ख्या पाँच हजार ८७८ जना छ । यो समुदायलाई होमस्टेमार्फत समृद्धिको यात्रामा हिँडाउने अग्रसरता भने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्कले गरेका थिए । साथै आतिथ्य सत्कार र क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले संस्कृति प्रवर्द्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए । 

        यहाँ आउने पर्यटकको स्वागतमा मौलिक संस्कृति झल्किन्छ । पाहुनालाई आमा तथा दिदीबहिनीहरुले रातो टीका, फूलको माला र मीठो मुस्कानले स्वागत गर्छन् । स्वागतमा स्थानीय मौरीको मह मिसाइएको पानी अनिवार्य जस्तै छ । एकैछिन थमाइ मारेपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । आठपहरिया समुदायले कसरी आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात गरेका छन् भन्ने जानकारी दिइन्छ । 

        स्याउले सिप्तिङ पुग्ने अधिकांशको ध्यान सुन्तला बगैँचाले तान्छ । पाहुनाहरू बगैँचामा रमाउँदै किसानसँग संवाद गर्छन् । सुन्तलाखेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे जानकारी लिन्छन् । यहाँको होमस्टेले पाहुनालाई केबल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ । गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गरिएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले बताउनुभयो । जसमा २४ जना विदेशी पाहुना थिए । यस वर्ष भने हालसम्म ८२ जना पर्यटक यहाँ आइपुगेको उहाँले बताउनुभयो । 

        एकरातमा १७ जनासम्म पाहुनालाई बास दिनसक्ने गरी विकास गरिएको यस होमस्टेमा मनोरञ्जन, संस्कृतिको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिन्छ । 

        यहाँको अर्को आकर्षण हो, साततले झरना र गुफा । सामुदायिक होमस्टेबाट १५ मिनेटको सवारी यात्रा र करिब डेढ घण्टा पैदल यात्रा गरेपछि झरना देख्न पाइन्छ । झरना पुग्नुभन्दा एक किलोमिटर अगाडि नै साततले गुफा छ । यस क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीएलआरपीले पदमार्ग निर्माण गरिदिएको छ । 

        आठपहरिया समुदाय नेपालको लोपोन्मुख जातिमा पर्छ । उनीहरुको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । पछिल्लो समय आधुनिकतासँगै संस्कृति हराउने चिन्ता समुदायका हिराबहादुरलाई छ । उहाँ भन्नुहुन्छ, “हामीले त पुर्खाहरुबाट सिक्यौँ । तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृति छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसपछि अहिले हामीले संस्कृति हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरु गर्ने गरेका छौँ ।”

        रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु