आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बढ्यो मकै उत्पादन


  • आफ्नै खबर
  • २०८२ मंसिर ४, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ३ पाठक संख्या
  • तनहुँ/  व्यास नगरपालिका-१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् । 

    दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्नुहुन्छ, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।’ यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् ।

    विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताउनुभयो ।  

    आव २०७९/८० मा २२ हजार दुई सय ३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार तीन सय ४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार दुई सय मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व ३.०१ रहेको थियो । आव २०८१/८२ मा २२ हजार एक सय ९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार दुई सय ४६ टन मकै उत्पादन भएको छ । 

    बाली विकास अधिकृत परियारले भन्नुभयो, ‘तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो । जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो ।’ तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु