
काठमाडौँ/ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरू प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा संस्कृति तथा सम्पदामा केन्द्रित चित्रकला छन् ।
कलामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्मा राजभण्डारीले बताउनुभयो । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरू प्रदर्शनीमा राखिएका छन् ।
‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्नुभएका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रबिन्दुमा राखेर लोककलाका आधारमा क्यानभास भर्नुभएको छ । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यानभासमा समेटेर उहाँले चित्र सिर्जना गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘पशुपतिमा देखिने विषयहरू हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु । हिजोको लोक कलालाई क्यानभासमा रूपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ । ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।’
तेल रङ्गमा कला प्रस्तुत गर्नुभएकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काउनुभएको छ । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उहाँले देखाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘परम्परागत कलामा प्रायः मानिसहरूले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ । तर, मैले त्यसलाई छाडेर पुरानो र हराएको संस्कृतिलाई उठान गरेकी छु ।’
प्रदर्शनीको संयोजन गर्नुभएकी कलाकार सुष्मा राजभण्डारीले गणेशको सिरिज प्रस्तुत गर्नुभएको छ । उहाँले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतार्नुभएको छ । उहाँको चित्र एक लाख रुपैयाँमा बिक्रीसमेत भइरहेको छ । अन्य ५/६ वटा चित्रहरू बिक्री भएको पनि उहाँले बताउनुभयो ।
नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।
नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस