
भोजपुर/ समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका-४ नागीका ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा एक सय तीन वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उहाँहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्यानो कपडा पनि प्रदान गरेको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद विनोद बान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य रहेको बताउनुभयो ।
सम्मानितहरूका तर्फबाट लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस