आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पर्यटकले रोज्नथाले वैकल्पिक पदमार्ग


  • आफ्नै खबर
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ४ पाठक संख्या
  • म्याग्दी/  म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ-तातोपानी-घोडेपानी-उल्लेरी-वीरेठाँटी-नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका हुन् । 

    पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुस जोड्ने पदमार्ग सञ्चालनमा आएको हो । 

    दशदेखि १५ दिनमा यात्रा पूरा गर्न सकिने यस पदमार्गलाई सडकले असर नगरेको पदयात्री बताउँछन् । उच्च पहाडी र हिमाली क्षेत्रको भूगोलमा हिमशृङ्खला, सूर्योदय, वनजङ्गल, पक्षी, भेडा, चौँरीको घुम्ती गोठ, वन्यजन्तुको अवलोकन गर्दै यात्रा गर्न पाइने पथप्रदर्शक दिनेशकुमार घिमिरेले बताउनुभयो ।

    ‘ग्रामीण जीवनशैली, शान्त र एकान्त वातावरण यो पदमार्गको आकर्षण हो’, उहाँले भन्नुभयो, ‘सडकलाई छलेर विशुद्ध पदयात्रा गर्न र प्रकृतिसँग रमाउन पाइने भएकाले पर्यटकको रोजाइमा परेको छ ।’

    गाउँगाउँमा सडक विस्तारसँगै पुराना पदमार्ग विलय भएको घिमिरेले बताउनुभयो । पर्यटकीय राजधानी पोखराबाट नजिक भएकाले पनि नयाँ वैकल्पिक पदमार्गमा पर्यटक आकर्षित भएका उहाँको भनाइ छ । गत महिना घिमिरेले बेलायतका पाँच जना पर्यटकलाई यो पदमार्गको भ्रमण गराउनुभएको थियो । पर्यटन व्यवसायीले पदमार्गलाई धौलागिरि अन्नपूर्ण नामकरण गरेका छन् । 

    पदमार्गमा पर्ने स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार हाल दैनिक एक सय जना पर्यटक यो नयाँ वैकल्पिक पदमार्गको भ्रमणमा आउने गरेका छन् । ‘पर्यटक आउन थालेपछि बजारबाट गाउँ फर्किएर होटल व्यवसाय सुरु गरेको छु’, उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा होटल र रेष्टुरेन्ट थपिनेक्रम बढेको छ ।’ 

    समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतलाई पदयात्रीले थकान मेटाउन विश्राम गर्ने थलोका रुपमा विकास भएको छ ।

    समुद्री सतहबाट तीन हजार ६ सय मिटर उचाइको खोप्रा लेक यस पदमार्गको मुख्य आकर्षण हो । क्याम्पिङ र होटलमा बास बस्ने गरेर पदयात्रा गर्न सकिने विकल्प रहेको बयलीका होटल व्यवसायी लोकबहादुर पुर्जाले बताउनुभयो । 

    वनजङ्गल, भीर र खोल्सा भएकाले गाइडसहित यात्रामा आउन उहाँले सुझाव दिनुभयो । अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनले पदमार्गका सामुदायिक लजको क्षमता विस्तार, पदमार्ग स्तरोन्नति, निर्माण र नयाँ गन्तव्य पहिचानसँगै प्रवर्द्धनमा जोड दिएको बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु