आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

यस्तो गाउँ पनि छ देशमा…


  • आफ्नै खबर
  • २०८२ मंसिर २३, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ५ पाठक संख्या
  • मुस्ताङ/  मुस्ताङ-डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । २०२२ सालमा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।

    कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ-डोल्पा सडकसँगै रहेको गाउँ अहिलेको स्थानान्तरित बस्ती हो । यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दथे । 

    त्यहाँको स्थानमा खेतीपाती गर्न सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थानान्तरित भएका थिए । यहाँ स्थानान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको जनाइएको छ । अझै पनि साङ्ता गाउँलेले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेषहरू त्यहाँ विद्यमान छन् ।

    साङ्ता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दूरीमा पर्छ । सङ्घीयतापछि मुस्ताङ-डोल्पा सडक विस्तार हुँदा गाउँलाई कच्ची सडक सञ्जालले छोएको छ । समुद्री सतहभन्दा चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको सडक जोडिएकाले साङ्ता गाउँका नागरिकहरूले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रुपमा पाउन थालेका छन् । 

    अग्ला अग्ला विशाल पहाडले घेरिएको स्याङ्ता गाउँको सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ । अभाव र अशिक्षाको भुमरीमा जकडिएको गाउँमा अचेल राज्यको उपस्थित आकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन् ।

    माथिल्लो डोल्पाका स्थानीय नागरिक किनमेलका लागि जोमसोम आउजाउ गर्ने बाटो साङ्ता गाउँ नै हो । कहिलेकाँही फाट्टफुट्ट विदेशी पर्यटकहरू साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन् । सरकारले यो गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ ।

    गाउँमा गएको सङ्घीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए । गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ । गाउँका बालबालिका विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द हुन पुगेको हो ।

    गाउँमा स्वास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ । गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरेपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ ।

    यहाँको स्थानान्तरित साङ्ता गाउँको वार्षिक दिनचर्या अरुको गाउँको भन्दा बिल्कुल फरक छ । बर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने यहाँका नागरिक हिउँदयामको चार/पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे ।

    त्यहाँ हिउँदयाम न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गर्दथे । त्यहाँ उनीहरूले अस्थायी टहरा र खेती गर्ने लालपुर्जा वाला जग्गा थियो । वर्षौँदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिक विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ-५ कै पाक्लिङ, फल्याक र धाकार्जुङलगायत गाउँहरूमा बस्न थालेका छन् ।

    गर्मी मौसममा साङ्ता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्जुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताउनुभयो ।

    अहिले मुस्ताङ-डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बग्रेल्ती हिउँ छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन । गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँको बाटो छिचोल्नुपर्ने हुन्छ । यहाँ गत कात्तिक १० गते हिमपात हुँदा यहाँको सडक पूरै हिउँले अवरुद्ध बनेको छ ।

    हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो । उहाँले यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्जुङ गाउँमा झरेको बताउनुभयो ।

    ‘गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ’, वडा सदस्य गुरुङले भन्नुभयो, ‘साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन  गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामर्थ्यले भ्याउँदैन ।’ 

    जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिनहरू कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गर्नुभयो ।

    ‘यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ’, वडा सदस्य गुरुङले भन्नुभयो, ‘बिरामी परेमा उपचार गर्न सजिलो छ । यसैले विगत छ/सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ ।’

    उहाँले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र बाँकी धाकार्जुङ गाउँमा आफन्त घरमा बसेको बताउनुभयो ।

    साङ्ता गाउँको पारी घोक पाखामा पशु गोठालाहरू मात्रै बस्ने गरेको गाउँ मुखिया थुक्तेन गुरुङले बताउनुभयो । साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रुपमा याक पालन गरेका छन् ।

    अहिले गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरूमा झरेको मुखिया गुरुङले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु