आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

धार्मिक सद्भावको उदाहरणिय स्थल ‘कम्मर शाह मजार’


  • आफ्नै खबर
  • २०८२ मंसिर २५, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २४ पाठक संख्या
  • बाँके/  डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् ।

    डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । धार्मिक आस्था फरक भए पनि दुवै समुदायका मानिसले मजारमा सँगसँगै पूजाआजा गर्नु र मनोकाङ्क्षासहित वर माग्नु यहाँको विशेष परम्परा बनेको गाउँपालिका-५ का वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

    ‘कम्मर शाह मजारमा हिन्दु-मुस्लिमलगायत सबै धर्म र जातजातिका मानिसले आआफ्नो मनोकाङ्क्षा राख्ने गरेका छन् । यो मेला धार्मिक सद्भावको नमूना बन्दै आएको छ’, उहाँले भन्नुभयो, ‘यहाँ धार्मिक र जातीयलगायत कुनै किसिमको भेदभाव छैन, संरक्षण समिति र व्यवस्थापन समितिमा सबै धर्म र जातजातिका स्थानीयको प्रतिनिधित्व छ ।’

    मेलामा सबै धर्ममा आस्था राख्नेले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको छ । मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँले हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकाङ्क्षा राख्ने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कम्मर बाबा सिद्धिप्राप्त मुस्लिम बाबा हुनुहुन्छ । उहाँको सम्झनामा बनाइएको मजारमा आशीर्वाद मागेमा प्राप्त हुन्छ भन्ने जनविश्वास छ । त्यसैले हिन्दू, मुस्लिमलगायत सबै धर्मावलम्बीहरूको मेलामा उत्तिकै भीड छ ।’

    कम्मर शाह बाबाले जीवित हुँदासम्म सबै मानव जातिको कल्याणका लागि काम गरेको र कुनै धर्म तथा सम्प्रदाय विशेष नहेरेका कारण वर्षौँदेखि सबैको साझा आस्थाको केन्द्र बन्दै आएको स्थानीय अगुवा शकील खानले बताउनुभयो ।

    जिल्लाका सबै धर्ममा आस्था राख्नेहरूले सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा डम्बर बुढाथोकीले बताउनुभयो । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि मेला महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु