आज: २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026

पनौतीमा राष्ट्रिय विभूति ‘भृकुटी’ को जन्मघर बन्ने


  • आफ्नै खबर
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित २ महिना अघि
  • ३३ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/  राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’ को जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया थालेको छ ।

    भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपासीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीले संयुक्त रूपमा छलफल थालेका हुन् ।

    प्रतिष्ठानका अध्यक्ष विश्व उलकका अनुसार मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर चालु आर्थिक वर्षभित्रै बुद्धको अनुयायीका रूपमा स्थापित भृकुटीको उद्यानसहितको जन्मघर निर्माण सुरु गरिनेछ ।

    यसका लागी बाग्मती प्रदेश सरकारले चालु आवमा एक करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ । परामर्शदाता इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माणस्थल, भवनको स्वरुप र लागतसम्बन्धी प्रस्तुति गर्नुभएको छ ।

    उहाँका अनुसार भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख रुपैयाँ र भृकुटी पार्क निर्माणमा पाँच करोड दुई लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुवै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ आवश्यक पर्ने उहाँको भनाइ छ ।

    भृकुटीको जन्म ६८१ साल (सन् ६२४) माघ १ गते मकर सङ्क्रान्तिको दिन राजा उदयदेव र रानी भद्रावतीको कोखबाट काभ्रेको खोपासीमा भएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

    नगरप्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्वलाई पनौतीमै महासत्व बुद्धको जन्म भएको तथा पनौतीको खोपासीबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचारप्रसार भएको इतिहासले बताएको बताउनुभयो । खोपासीमा भृकुटीको जन्मघर निर्माण हुँदा पनौतीमात्र नभई समग्र राष्ट्रकै हितमा रहने अपेक्षा गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु