आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

एपीएफ अस्पतालमा ३०० शैय्या र सेवा विस्तार 


  • आफ्नै खबर
  • २०८२ पौष ७, सोमबार ३ महिना अघि
  • २८ पाठक संख्या
  • काठमाडौँ/  सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । 

    अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अपरेशन थियेटर’को निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

    मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी राखिएको छ । इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सेवा लिन सक्नेछन् । 

    सशस्त्रलाई तीन सय शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ असोजमा अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा एपिएफ अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको छ । 

    उपचारार्थ आउने बिरामीलाई समयसापेक्षितरूपमा गुणस्तरीय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नति र अस्पतालमा कार्यरत जनशक्तिको वृत्ति विकासको लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, पुनर्स्थापना केन्द्रलगायत संरचना निर्माण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

    नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालमा जलन उपचार युनिट सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीलाई किर्तिपुरस्थित जलन अस्पतालमा पाँच दिन अवधिको तालिम उपलब्ध गराई उक्त सेन्टरका लागि आवश्यक पूर्वाधार तथा सामग्रीको जडान कार्य भइरहेको छ । 

    सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिसरभित्रै सःशुल्क फार्मेसी र सशस्त्र प्रहरीका बहालवाला तथा पूर्वकर्मचारीको लागि दैनिक उपभोग्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन ‘सुपथ मुल्य क्यान्टिन’ सञ्चालनमा ल्याइएको छ । 

    चालु आर्थिक वर्षदेखि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा ‘एपीएफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज’ सञ्चालनमा आएको छ ।  उक्त इन्स्टिच्युटमा यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह नर्सिङ अध्ययन सुरु भएको छ । इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ चार जना गरी ४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । 

    कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) को कमाण्ड रहेकामा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (चिकित्सक)ले कमाण्ड गर्नेछन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु