आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

नबिल बैङ्कले चीनमा जित्यो त्रिशूली जलविद्युतसम्बन्धी मुद्दा


  • आफ्नै खबर
  • २०८२ पौष ७, सोमबार ३ महिना अघि
  • ३७ पाठक संख्या
  • काठमाडौँ/  नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।

    चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैङ्क ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैङ्कले जनाएको छ ।

    चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैङ्क चाइना एभरब्राइट बैङ्क, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीवापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो ।

    नबिलले बैङ्क ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैङ्कले चाइना एभरब्राइट बैङ्कलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैङ्कले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो ।

    नबिल बैङ्कले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैङ्क ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैङ्कको पक्षमा फैसला सुनाएको थियो ।

    उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैङ्कको पक्षमा फैसला गरेको थियो ।

    त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मङ्सिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैङ्क ग्यारेन्टी जफत गरेको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु