आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान


  • आफ्नै खबर
  • २०८२ पौष १०, बिहिबार ३ महिना अघि
  • ३१ पाठक संख्या
  • म्याग्दी/  मालिका गाउँपालिका-७ दोबाटाका किसानहरूले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । 

    बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोबाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो । 

    ‘कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो’, उहाँले भन्नुभयो, ‘केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो । घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन ।’

    यस वर्ष करिब पाँच लाख रुपैयाँको सुन्तला बेचेका मित्रलालले केराबाट थप एक लाख रुपैयाँ आम्दानी हुने बताउनुभयो । उहाँले तीन वर्ष खाडीमुलुक साउदीमा भेडा चराएर २०५७ सालमा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गर्नुभएको थियो । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ । 

    मित्रलालसँगै उहाँका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गर्नुभएको छ । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याउनुभएको थियो । 

    हाल मालिका गाउँपालिका-७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताउनुभयो । पोखरा र चितवनका ब्यापारीले बगैँचाबाटै प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ । 

    अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले ६० हजारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । ६० भन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताउनुभयो । 

    ‘सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तलाखेती फस्टाएको छ’, उहाँले भन्नुभयो, ‘कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ ।’

    पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाउनुभएको छ । 

    ‘चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिएँ’, उहाँले भन्नुभयो, ‘त्यतिबेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन् । सुन्तलाखेती पेन्सनजस्तो भएको छ ।’ उहाँले वार्षिक चार लाख रुपैयाँको सुन्तला बिक्री गर्नुहुन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु