आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र बनाइने


  • आफ्नै खबर
  • २०८२ पौष १०, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ४ पाठक संख्या
  • चितवन/  धार्मिक क्षेत्र देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

    क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको छ । क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका सङ्घसंस्थाहरूसँगको सहकार्यमा प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।

    यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डष्टवीनहरू राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोतल फाल्ने र ब्लेड (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।

    क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार चार सय ३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उहाँको भनाइ छ । 

    फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । 

    उक्त कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

    देवघाटको दाहसंस्कार स्थलको फोहर व्यवस्थापनमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायतका कामहरू गरिएको उहाँको भनाइ थियो । 

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु