आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

जिल्ला सदरमुकाममा पानीको सङ्कट अन्त्य


  • आफ्नै खबर
  • २०८२ पौष १४, सोमबार ३ महिना अघि
  • ४६ पाठक संख्या
  • भोजपुर/  जिल्ला सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित ६ वटा वडाका दुई हजार ६ सय ५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ ।

    समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ । 

    भुल्के मुहान, डढुवा मुहान, जोरसाँघु मुहान, तीनधारे मुहान र तीन भङ्गाले  गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अध्यक्ष तुफान किरातले जानकारी दिनुभयो । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजनाअन्तर्गत दुई वटा पानी प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।

    ‘स्थानीय नागरिकलाई सहजरूपमा खानेपानीको व्यवस्था गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ’, अध्यक्ष किरातले भन्नुभयो, ‘आयोजना सञ्चालनमा आएपछि बजार क्षेत्रसँगै आसपासका वडाका नागरिकको पानीको समस्या हटेको छ ।’

    आयोजनामार्फत पानी वितरणका लागि १० हजार ९५ लिटर क्षमताका ११ वटा ट्याङ्की निर्माण गरी पानी वितरण भइरहेको छ । यस आयोजनाबाट भोजपुर नगरपालिका-५, ६, ७, ८, ९ र १२ का नागरिकले खानेपानी उपभोग गर्दै आएका छन् ।

    विगतमा गम्भीर पानी अभाव झेल्दै आएका स्थानीयले नागरिक सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत करिब ५० करोड रुपैयाँको लागतमा २०७८ चैतमा योजना सम्पन्न भएपछि सहजता पाएका हुन् । स्थानीय नागरिकले आयोजना सञ्चालनसँगै दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु