आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

चन्द्रागिरि बन्यो बालश्रममुक्त


  • आफ्नै खबर
  • २०८२ पौष १४, सोमबार ३ महिना अघि
  • ३५ पाठक संख्या
  • काठमाडौँ/  चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले आज यहाँ आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा  गर्नुभयो । 

    यस अगाडि चन्द्रागिरि-१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको चन्द्रागिरि-१२ का कावा वडाध्यक्ष अञ्जु नेपालले जानकारी दिनुभयो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित २०७९ असार २ गते वडा नं १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो । 

    उक्त अवसरमा परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो । २०८० असोज ४ मा वडा नं. ३, सोही वर्षको फागुन २७ गते वडा नं. ८, चैत २१ गते वडा नं. ६, चैत २३ गते वडा नं. ७, चैत ३० गते वडा नं. ५ लाई बालश्रममुक्त घोषणा गरिएको थियो ।

    त्यस्तै, २०८१ भदौ २९ मा वडा नं. ११, सोही वर्षको असोज ५ मा वडा नं. १०, माघ १० गते वडा नं. ९ र माघ २५ मा वडा नं. २, फागुन १८ मा वडा नं. ४, २०८२ जेठ ३० मा वडा नं. १५, सोही वर्षको भदौ १३ गते वडा नं. १३, भदौ १५ मा वडा नं. १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो । 

    चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको थियो । लक्ष्यअघि नै उक्त कार्य पूरा भएको जनाइएको छ । सो अवसरमा नगर प्रमुख  गिरीले भन्नुभयो, ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा पछि यसको दिगोपनमा काम जारी राखिने छ ।’  

    ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५), ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए ।

    चन्द्रागिरि-१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रममुक्त बनाउँदै लगिएको जानकारी दिनुभयो । 

    महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मि श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घ संस्था, उद्योग व्यवसाय क्षेत्रको अथक योगदान र सहयोगका कारण नगरपालिकालाई बालश्रममुक्त घोषणा भएको जानकारी दिनुभयो । 

    यसअघि देशभरका ६ स्थानीय तहमात्रै ‘बालश्रममुक्त घोषणा’ भएका बताइएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका अधिकृत विष्णुकुमारी बाँस्कोटाले नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु