आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

विद्यार्थीलाई ३० रुपैयाँमा खाना खुवाइरहेको विद्यालय


  • आफ्नै खबर
  • २०८२ पौष १६, बुधबार ३ महिना अघि
  • ४४ पाठक संख्या
  • कास्की/  सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका-२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना ३० रुपैयाँमा खुवाउँदै आएको छ ।

    विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिनुभयो ।

    विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उहाँले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    ‘विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्यक्रम अघि बढाएका छौँ’, उहाँले भन्नुभयो, ‘कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।’ उहाँका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा सम्म हिँडेर आउने विद्यार्थीसमेत रहेका छन् ।

    विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे, ओख्लेलगायत टाढाटाढाका स्थानबाट विद्यार्थी आउने गरेको उल्लेख गर्दै उहाँले हालसम्म विद्यालय बसको सुविधा उपलब्क्ध गराउन नसकिएको बताउनुभयो । विद्यालय बसका लागि भारतीय राजदुतावासमा प्रस्ताव गरिएको जनाउँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा बस प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो ।

    २०१६ सालमा स्थापित यस विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको यहाँका अभिभावक बताउँछन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको पठनपाठनसमेत गराउँदै आएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु