
कञ्चनपुर/ शुक्लाफाँटा नगरपालिकाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेका जेहनदार विद्यार्थी पुष्पराज भट्टलाई एमबीबीएस अध्ययनका लागि शुक्रबार छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिकाको १८५ औँ कार्यपालिका बैठकले शुक्लाफाँटा नगरपालिका-७ निवासी भट्टलाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय अनुरूप छात्रवृत्ति उपलब्ध गराइएको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिनुभयो । कार्यविधिअनुसार नगरपालिकाले भट्टलाई अध्ययन अवधिभर प्रत्येक वर्ष १० लाख रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार ‘एमबीबीएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि-२०८०’ बमोजिम आवेदन आह्वान गरिएकामा योग्यताक्रमका आधारमा पुष्पराजलाई छनौट गरिएको हो ।
उहाँले भन्नुभयो, ‘नगरभित्र बसोबास गर्ने सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब तथा विपन्न तर जेहनदार विद्यार्थीलाई चिकित्सक बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।’
छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीले अध्ययन पूरा गरी दक्ष चिकित्सक बनेर नगरपालिकाले तोकेको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा चार वर्ष सेवा गर्नुपर्ने सर्त राखिएको छ । नगरपालिकाले आफ्नै नगरस्तरमा दक्ष चिकित्सक उत्पादन गरी नगरवासीलाई गुणस्तरीय र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
छात्रवृत्ति पाएका पुष्पराजले नगरपालिकाको कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईइ )उत्तीर्ण गर्नुभएको थियो । चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा उहाँ २५०८ औँ योग्यताक्रममा छनोट हुनुभएको हो । उहाँले पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा अध्ययन गर्ने तयारी गर्नुभएको छ ।
आफ्नो चिकित्सक बन्ने सपनामा नगरपालिकाले आर्थिक सहयोग गरेपछि पुष्पराजले खुसी व्यक्त गर्नुभयो । ‘आर्थिक अवस्थाका कारण मेरो परिवारका लागि एमबीबीएस अध्ययन निकै चुनौतीपूर्ण थियो । नगरपालिकाको यो सहयोगले मेरो सपना साकार हुने भएको छ’, उहाँले भन्नुभयो, ‘अध्ययन पूरा गरेर आफ्नै नगरका नागरिकको सेवामा समर्पित हुनेछु ।’
–रासस
प्रतिक्रिया दिनुहोस