आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

गुल्मीमा भेटिए ३५५ प्रजातिका चरा


  • आफ्नै खबर
  • २०८२ पौष १९, शनिबार २ महिना अघि
  • ३४ पाठक संख्या
  • गुल्मी/  थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको सङ्ख्या जम्मा तीन सय ५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।    

    जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरू फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो । सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा नयाँ २५ प्रजातिका चराहरु फेला परेको परियोजना अधिकृत भट्टराईले बताउनुभयो । 

    यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिँदै आएकामा यस पटकको सर्वेक्षणमा थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि चरा सर्वेक्षण गरिएको थियो । नयाँ फेला परेका चराका प्रजातिहरूमा तिलहरी, मोटो ठुँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायत रहेको जनाइएको छ । 

    विश्वमा पाइने दुर्लभ चरामध्ये गुल्मीमा ६ प्रजातिका चराहरू पाइन्छन् । ती चराहरुमा रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल छन् । काँडे भ्याकुर रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ । 

    नेपालमा पाइने नौ सय तीन प्रजातिका चरामध्ये गुल्मीमा करिब ४० प्रतिशत चरा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । सङ्घले विभिन्न समयमा गरेको पन्छी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ७६ प्रजाति, मदाने वन संरक्षण क्षेत्रमा दुई सय ८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा एक सय ९६ प्रजातिका चरा फेला परेका छन् ।

    तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार जम्मा तीन सय ५५ प्रजातिका चराहरूको तथ्याङ्क अभिलेख गरिएको छ । 

    सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरूलाई वन जङ्गलको संरक्षण र सम्वर्द्धनसँगै जीविकोपार्जनमा टेवा पुर्याउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जिल्लामा चरा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु