आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

तरबुजाखेती प्रवर्द्धनमा लाग्यो महानगर


  • आफ्नै खबर
  • २०८२ पौष २०, आईतबार २ महिना अघि
  • ३६ पाठक संख्या
  • कास्की/  पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

    अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं. १३, १४, ३३ लगायत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुई करोड रुपैयाँबराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।

    ‘महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रूपमा नै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ र मल्चिङका लागि ५० प्रतिशत अनुदानको कार्यक्रम पनि राखिएको छ ।’ 

    अघिल्लो वर्ष वडा नं. १३ मा मात्रै करिब एक सय रोपनी क्षेत्रमा तरबुजाखेती गरिएको जानकारी दिँदै उहाँले तरबुजा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउनका लागि उक्त वडामा तरबुजा मेलासमेत सम्पन्न गरिएको बताउनुभयो । उहाँका अनुसार उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ ।

    महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षणसमेत गर्न लागेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु