आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

पर्यटन विकासका लागी गोरखा–काठमाडौँ एकीकरण पदयात्रा


  • आफ्नै खबर
  • २०८२ पौष २१, सोमबार २ महिना अघि
  • ३४ पाठक संख्या
  • गोरखा/  नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

    पदयात्राको जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर,  नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गर्नुभयो ।

    नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमान्डसहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डा प्रदान गरी पदयात्राको शुभारम्भ गरिएको सो गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो । उहाँहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रममा टर्च र झन्डा हस्तान्तरण गरेर बिदाइ गरिएको थियो । 

    पदयात्रामा निस्किएको टोली सोमबार पीपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेँसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झन्डा बुझाउने छ । धादिङको गणले नुवकोटको गणलाई र नुवाकोटले काठमाडौँको गणलाई यात्रा हस्तान्तरण गर्नेछ ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि उक्त टोली पुस २६ साँझसम्म हनुमानढोकास्थित गुल्मलाई टर्च र झन्डा हस्तान्तरण कार्यक्रम छ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

    एकीकरण मार्गमा रहेको ऐतिहासिक स्मारक, कोट र गढी संरक्षण, प्रचारप्रसार तथा विकास गर्ने उद्देश्यले २०७६ सालदेखि नेपाली सेनाले सो पदयात्रा सुरु गरेको हो ।

    -रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु