
दाङ/ अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती भुइँऐँसेलु । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका-१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ ।
स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्नुहुन्छ । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय उहाँले गत वर्षमात्र २१ लाख रुपैयाँबराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष आधाभन्दा बढी रकम त बचत नै भयो । यो वर्ष पनि दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ । यस वर्ष झन् क्षेत्रफल बढेकाले कारोबार बढ्ने अपेक्षा छ ।’
उहाँका अनुसार यो वर्ष मङ्सिरबाट बेच्न सुरु गरेको र आम्दानी पनि राम्रो भइरहेको छ । एक किला सात सय रुपैयाँका दरले बिक्री भइरहेको छ । उहाँले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएको छ ।
किसान साउदले भन्नुभयो, ‘कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ । अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’
परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयो । उहाँले घोराहीमामात्र होइन, कपिलवस्तुमा १० कट्ठामा र कैलालीमा दुई बिघामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आउनुभएको छ ।
त्यसैगरी, घोराहीकै अर्का किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरीको खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँले केही वर्षदेखि स्ट्रबेरीखेती गर्दै आउनुभएको हो । उमेरले २८ वर्ष पुग्नुभएका उहाँले यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका-१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उहाँको भनाइ छ ।
किसान खड्काले भन्नुभयो, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ । विगत दुई/तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’
उहाँले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आउनुभएको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उहाँले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्नुहुन्छ भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आउनुभएको छ ।
स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भन्नुभयो, ‘बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपैयाँ बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।’
कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताउनुभयो ।
जिल्लामा बजार सानो भएको हुँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिग्रेर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताउनुभयो ।
जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउँदै उहाँले भन्नुभयो, ‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो । आजभोलिको समय राम्रो हुन्छ ।’ जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उहाँको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस