आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

महोत्सवमा तीन जातिका नमुना घर


  • आफ्नै खबर
  • २०८२ पौष २२, मंगलबार २ महिना अघि
  • ३८ पाठक संख्या
  • तनहुँ/  नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।

    व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र सालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ । 

    जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेपनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

    अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।

    यसले नयाँपुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    छैटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । 

    आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको तामाङको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पुर्याउन महोत्सव महत्वपूर्ण हुने विश्वास छ ।’ 

    महोत्सवका लागि आवश्यक तयारी सुरु भइसकेको जनाउँदै उहाँले स्टल निर्माण, सांस्कृतिक मञ्च व्यवस्थापन, समुदायगत प्रदर्शनीस्थल तयार गर्ने काम तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

    आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । आगामी माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५ लाख रुपैयाँ बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक तामाङले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु