
गोरखा/ केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला गर्यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा हुनुहुन्थ्यो छेकम गाउँका दोर्जे लामा ।
त्यहाँ उहाँले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाल्नुभयो । सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उहाँ प्रभावित हुनुभयो ।
‘तिब्बत जाँदा त्यहाँ मान्छेहरू घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ । उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडाकाँडा, भीर पखेरा । यता पनि कसो नचल्ला त भनेर विचार गरेँ’, दोर्जे भन्नुहुन्छ, ‘पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ । अनि जसो होला होला, विचार गर्नुपर्यो भनेर एउटा किनेर ल्याएको हुँ ।’
स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन । न त उहाँलाई स्कुटर चलाउने सीप नै थियो । मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उहाँले धेरै नै मेहनत गर्नुपर्यो ।
‘उता (तिब्बत)बाट आउँदा उकालोमा हामी चार-पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोर्याउँदै, कतै एकजना चढ्ने, अरुले समात्ने गर्दै ल्याइपुर्यायौँ’, उहाँले भन्नुभयोे, ‘ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो ।’
हिमालवारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति हुनुभएको छ । अचेल उहाँ स्कुटर हाँकेर गाउँघर डुल्ने गर्नुहुन्छ । सडक सञ्जालले नछोएको र अझै दशौँ वर्ष सडक पुग्ने कल्पना नगरिएको चुमनुब्री-७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्नुहुन्छ ।
घोडा चढेर गाउँघर, वनजङ्गल आवतजावत गर्ने छेकम्पारवासीकाबीच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीयवासी पनि प्रभावित छन् ।
‘अहिले त मेरो मात्रै छ । सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन् । चलाउन जान्दैनन् । बिगार्दिन्छन् झैँ लाग्छ’, दोर्जे भन्नुहुन्छ, ‘अब आउँदो साल त अरुले पनि स्कुटर किन्ने भनेका छन् । अब गाउँमा सिँढी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो ।’
छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्रयाक्टर भित्र्याउनु भएको थियो । लामा चुमनुब्री-७ का निवर्तमान वडाअध्यक्ष पनि हुनुहुन्छ ।
सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा १८ लाख रुपैयाँ पर्ने ट्र्याक्टर ३४ लाख रुपैयाँ भाडा तिरेर हेलिकप्टरमार्फत गाउँमा ल्याउनुभएको थियो । ट्रयाक्टरका लागि आवश्यक पर्ने इन्धन भने उहाँले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गर्नुहुन्छ ।
पासाङको ट्रयाक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन् । ट्रयाक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन् । ट्रयाक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘यसबाट खासै आम्दानी त हुँदैन । तर, यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ ।’ छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्रयाक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस