आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

एउटै पालिकाले एक लाख ७५ हजार किलो लसुन र प्याज फलाउने


  • आफ्नै खबर
  • २०८२ पौष २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • २२ पाठक संख्या
  • गण्डकी/  कास्कीको रूपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब चार सय रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ ।

    गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउ लगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । 

    पालिकाले लसुनका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याजका लागि प्रतिरोपनी आठ हजार रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो । पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ । 

    पालिकाभित्र करिब दुई सय ५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । 

    ‘पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ’, उहाँले भन्नुभयो, ‘एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन् ।’

    व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु