आज: २०८३ जेष्ठ २१, बिहिबार | Thu, 04, Jun, 2026

गरिबी घटाउने कफी


  • आफ्नै खबर
  • २०८२ पौष ३०, बुधबार ४ महिना अघि
  • ७३ पाठक संख्या
  • भोजपुर/  षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

    कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब तीन करोड ३० लाख रुपैयाँबराबरको कार्यक्रम सञ्चालन भइरहेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार माटो, हावापानी र भूगोल सुहाउँदो कफीखेतीका लागि उपयुक्त रहेका क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ ।

    ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’ अन्तर्गत गत वर्षदेखि नै निरन्तर रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले कफीखेतीलाई प्राथमिक बालीका रूपमा विकास गरिएको हो ।

    कफीखेतीको माध्यमबाट किसानलाई आयआर्जनमा जोड्न प्राथमिकताका साथ कार्यक्रम अघि बढाइएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १४ वटै वडामा कफीखेती विस्तारको काम भइरहेका छन् ।

    नगरपालिकाले किसान तथा कृषि समूहबाट आवेदन आह्वान गरी कफीखेती विस्तार, सिँचाइ सुविधा निर्माण, आवश्यक औजार तथा उपकरण वितरण, बिरुवा उपलब्ध गराउनेलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई कफीखेतीप्रति आकर्षित गर्दै बाँझो जमिनको सदुपयोग गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

    षडानन्द नगरपालिकाको अधिकांश भूगोल कफीखेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै प्रमुख उदासले वडास्तरमै कफीखेती प्रवर्द्धन तथा विस्तारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी अहिले कफीखेतीलाई बृहद् रूपमा विस्तार गरिरहेका छौँ । किसानलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्दै षडानन्द नगरपालिकालाई कफी उत्पादनको नमूना क्षेत्र बनाउने हाम्रो दीर्घकालीन लक्ष्य छ ।’

    यसअघिका वर्षहरूमा किसानलाई २५ हजार कफीको बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । गत वर्ष प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटमा किसानलाई २० हजार बिरुवा वितरण गरिएको शाखाले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु