आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पालिकाले शिक्षकलाई दियो स्थानीय भत्ता


  • आफ्नै खबर
  • २०८२ माघ ३, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४ पाठक संख्या
  • भोजपुर/  रामप्रसादराई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । 

    दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो ।

    गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङ्गलाक्पा तामाङले दुर्गम क्षेत्रमा कार्यरत स्थायी शिक्षकहरूलाई प्रोत्साहन प्रदान गर्न यो व्यवस्था गरिएको बताउनुभयो ।

    हाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आफ्नो तह र श्रेणीअनुसार नियमित रूपमा स्थानीय भत्ता पाउँदै आएका छन् । प्राथमिक तह प्रथम श्रेणीका शिक्षकले मासिक पाँच हजार पाँच सय १० रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले चार हजार ६ सय रुपैयाँ तथा तृतीय श्रेणीका शिक्षकले चार हजार दुई सय ५० रुपैयाँ स्थानीय भत्ता प्राप्त गर्दै आएका छन् । 

    त्यसैगरी निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई मासिक पाँच हजार पाँच सय १० र माध्यमिक तहका शिक्षकलाई मासिक आठ हजार आठ सय रुपैयाँ स्थानीय भत्ता प्रदान गरिएको छ । 

    गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षकको मनोबल उच्च राख्दै शैक्षिक उपलब्धि सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पुग्ने विश्वासका साथ भत्ता प्रदान गरिएको बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु