आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


  • आफ्नै खबर
  • २०८२ माघ ३, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

    उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा चार सय ७५ वटा उद्योगमा ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा तीन सय ११ वटा उद्योगमा ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । 

    चालु आवमा सात वटा ठूला, आठ वटा मध्यम र चार सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा गत पुसमा ३६ वटा साना उद्योगमा ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । 

    प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार सात सय १३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबर रहेको छ ।

    बितेका ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका दुई सय ५७ वटा उद्योगका लागि एक अर्ब आठ करोड रुपैयाँ छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा २२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    पर्यटनमूलक क्षेत्रका एक सय ४५ उद्योगमा १० अर्ब ५४ करोड रुपैयाँ,  उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा दुई अर्ब तीन करोड रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४३ लाख रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा चार करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ उद्योगमा तीन अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु