आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

 गाईभैँसी पालेरै महिनाको एक लाख


  • आफ्नै खबर
  • २०८२ माघ ३, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ५ पाठक संख्या
  • दाङ/  तुलसीपुर उपमहानगरपालिका-३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक एक लाखदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गर्नुभएको छ । 

    स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘खर्च कटाएर अहिले मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको छ ।’ 

    हाल बजारमा ९५ रुपैयाँ प्रतिलिटर दूध बिक्री हुने शर्माले बताउनुभयो । उहाँका अनुसार दूधलाई बजारीकरण गर्न समस्या नभए पनि सरकारले ध्यान भने दिनुपर्नेमा अवस्था छ ।

    ‘अहिले बजारमा दूध बेच्नलाई समस्या छैन’, उहाँले भन्नुभयो, ‘तर वास्तविक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्, यसमा सरकारले ध्यान दिनुपर्छ ।’

    उहाँले २०७७ सालदेखि गाई र भैँसीपालन सुरु गर्नुभएको हो । हाल नौ वटा गाई र पाँच वटा भैँसीले नियमित दूध दिँदै आएका छन् । 

    किसान शर्माले १३ लाख रुपैयाँ लगानी गरेर गोठ तयार गरेको जनाउँदै १३ लाख रुपैयाँजति नै लगानी गरेर गाई तथा भैँसी खरिद गरेको बताउनुभयो । उक्त लगानी फिर्ता भइसकेको उहाँको भनाइ छ । उहाँले गाईभैँसीको मल पनि बिक्री गर्दै आउनुभएको छ । प्रत्येक ट्रिपरको ३० हजार रुपैयाँका दरले मल बिक्री हुने उहाँले बताउनुभयो । 

    व्यवसाय गर्ने किसानलाई पशुको निःशुल्क बिमा गर्ने, भकारो सुधार कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने तथा पशु एआई गर्दा सरकारले वास्तविक कृषकलाई दिनुपर्नेमा शर्माले जोड दिनुभयो । उहाँले ‘शर्मा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यवसाय गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु