आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पर्वतारोहण र पर्यटनले बढाएको नेपाल-क्यानडा सम्बन्ध


  • आफ्नै खबर
  • २०८२ माघ ४, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  सरोकार भएकाहरूले पर्वतारोहण र पर्यटनले नेपाल–क्यानडा सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभएको छ ।

    नेपाल र क्यानाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षगाँठका अवसरमा नेपाल-क्यानाडा मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपाल क्यानडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन’ विषयक अन्तरक्रियामा सरोकार भएकाहरूले दुई देशको सम्बन्ध विस्तारमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    नेपाल र क्यानडाबीच १८ जनवरी १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 

    कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सङ्घका पर्यटनविज्ञ आङछिरिङ शेर्पाले क्यानाडाले नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, पूर्वाधार, जलविद्युत् र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘क्यानडेली पर्वतारोही र पर्यटकहरूको निरन्तर आगमनले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको छ । साथै, क्यानडाको सर एडमन्ड हिलारी फाउन्डेसनले खुम्बु र हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदाय विकासमा उल्लेखनीय योगदान दिएको छ ।’

    पर्यटनविज्ञ शेर्पाले हिमालय नेपालका लागि केवल भौगोलिक संरचना मात्र नभई सभ्यता, संस्कृति र भविष्यको आधार भए पनि आज जलवायु परिवर्तनका कारण तीव्र रुपमा हिमनदी पग्लिने,  

    हिमताल फुट्ने जोखिम बढ्नु चिन्ताजनक रहेको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हिमालयको संरक्षण गर्नु भनेको मानव सभ्यताको भविष्य सुरक्षित गर्नु हो । क्यानडाजस्ता मित्रराष्ट्रहरूसँगको सहकार्यमार्फत दिगो विकास, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरण सम्भव छ ।’

    यसैगरी सङ्घका संरक्षक, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले पर्वतारोहण पर्यटनमा क्यानडाको चासो रहँदै आएको बताउँदै हिमताल जोगाउने विषयमा नेपालको मात्र नभई विश्वकै चिन्ता रहेको बताउनुभयो । उहाँले आगामी दिनमा हिमाल जोगाउने विषयमा थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद प्रतिष्ठानका पूर्वकुलपति उप्रेतीले नेपाल र क्यानाडाले विश्वस्तरका सामाजिक र मानवीय मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सङ्घका अध्यक्ष निरोज मास्के, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सङ्घका पूर्वअध्यक्ष इन्जिनियर केशव कुँवर, सदस्य देवेश ढुङ्गाना, सगरमाथा आरोही शेर्पाले आफ्नो धारणा राख्नुभएको थियो ।

    त्यस अवसरमा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पा र नेपालकी कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई विशेष सम्मान गरिएको थियो । 

    कार्यक्रममा सङ्घका संरक्षक तथा परराष्ट्रविद एवम् क्यानाडाका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत कालीप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु