आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सुन्तलाले पाएको मूल्यले दङ्ग छन् किसान


  • आफ्नै खबर
  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ५ पाठक संख्या
  • चितवन/   जिल्लामा सुन्तलाखेती गर्ने किसान सुन्तलाले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका-२९ मा सुन्तलाखेती हुँदैआएको छ । 

    इच्छाकामना गाउँपालिका/५ का किसान रामप्रसाद बोहोराले भन्नुभयो, ‘गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौँ । खुसी छौँ ।’ गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिलो एक सय रुपैयाँभन्दा बढीमा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । 

    किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो वडाले मात्रै सुन्तलाबाट ६० लाख रुपैयाँ हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।’

    कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उहाँको भनाइ छ ।

    यस्तै, भरतपुर महानगरपालिका-२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी हुनुहुन्छ । उहाँहरूले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरूले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनु भएको छ ।

    उहाँले भन्नुभयो, ‘हामी सबैले धेर थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।’ अहिले किसानको बारीबाटै व्यवसायीले प्रतिकिलो एक सय रुपैयाँभन्दा बढीमा सुन्तला उठाउने गरेको उहाँले बताउनुभयो ।

    सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरू उत्साहित भएको उहाँको भनाइ छ ।

    इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तलालाई ग्रेडिङ् गरेर बिक्री गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ् गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उहाँले बताउनुभयो । 

    इच्छा कामना गाउँपालिकामा यसवर्ष सुन्तला उत्पादनमा भने कमी आएको छ । उहाँका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार तीन मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

    उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।’ गत वर्ष एक हजार एक सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् ।

    पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा केही उत्पादन घटेर एक हजार ३६ मेटिक टन उत्पादन भएको थियो । २०८१/८२ मा एक हजार एक सय २० मेट्रिकटन र २०८२/८३ मा एक हजार तीन मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

    गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो नभएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।’

    इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उहाँले गाउँपालिका सुन्तलाखेती प्रवर्द्धनमा लागिरहेको बताउनुभयो । उहाँले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउनुहुन्छ । 

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सुन्तलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्याउन पालिकाले सहयोग गर्दै आएको छ ।’

    कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउनुहुन्छ । एक सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उहाँले अहिले किसान सन्तुष्ट भएको बताउनुभयो । 

    अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका-२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु