आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

नेपाल प्रवेशको अनुभुति दिन सिमामा एक सय राष्ट्रिय झण्डा


  • आफ्नै खबर
  • २०८२ माघ १२, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ४ पाठक संख्या
  • रुपन्देही/  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरूमा झण्डा राखेको हो ।

    मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब एक सय झण्डा राखिएको हो ।

    भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताउनुभयो । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

    यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उहाँले बताउनुभयो । आफूहरूले गरेको यो कार्यले नेपालभरि सन्देश पुग्ने गिरीले बताउनुभयो । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रूपन्देहीले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

    बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाइसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताउनुभयो ।

    बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताउनुभयो ।

    ‘नेपाल प्रवेश गरेपछि त्यो कुरा पर्यटकलाई भान होस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘सरकारले मात्र गरेर हुँदैन । सङ्घ-संस्थाले पनि काम गर्नुपर्छ । देशप्रति नागरिकको पनि दायित्व छ । यो देशलाई चिनाउन हामी सबै लाग्नुपर्छ ।’ नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु