आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बहुवर्षे खेतीमा बढ्दो आकर्षण


  • आफ्नै खबर
  • २०८२ माघ १५, बिहिबार २ महिना अघि
  • ४० पाठक संख्या
  • भोजपुर/  पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् ।

    गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै बहुवर्षीय खेती प्रविधिमा जोड दिइँदै आएको छ ।

    गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने भएकाले बहुवर्षीय खेती प्रणाली प्रभावकारी बन्दै गएको बताउनुभयो । किसानको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका बहुवर्षीय खेतीका लागि सहयोग उपलब्ध गराइँदै आएको उहाँले जानकारी दिनुभयो । 

    अध्यक्ष राईले भन्नुभयो, ‘हामीले बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । एक घर एक फलफूल बगैँचा कार्यक्रममार्फत किसानलाई फलफूल खेतीमा जोडिरहेका छौँ । बगैँचा विस्तारका लागि बिरुवा वितरण गर्छौं । यसअघि सञ्चालन गरिएको अकबरे खुर्सानी खेती कार्यक्रम किसानका लागि लाभदायक साबित भएपछि व्यावसायिक फलफूल खेती कार्यक्रमलाई थप विस्तार गरिएको छ ।’

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बहुवर्षीय खेती प्रणालीको विकासका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । यस वर्ष आवेदन आह्वान गरेर ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम सञ्चालनको तयारी भइरहेको र गाउँपालिकाले ६ वटै वडामा कार्यक्रम कार्यान्वयन गर्न करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

    ‘विस्तृत कार्ययोजना तयार पारेर फलफूल खेती विस्तारको कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ । कार्यक्रमको मूल नारा नै ‘रोप्ने, हुर्काउने’ हो’, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, ‘प्राविधिकहरूले बिरुवा रोपनदेखि मल व्यवस्थापन, हेरचाह तथा रोग-किराबाट बचाउने उपायबारे किसानलाई स्थलगत रूपमा सेवा प्रदान गर्नेछन् ।’

    बहुवर्षीय बालीका रूपमा किसानलाई आँप, लिची, किबी, एभोकाडो, सुन्तलालगायतका खेतीमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।

    फलफूल खेतीको माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा कृषिका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

    स्थानीय किसान नवराज घिमिरेले गाउँपालिकाको यस पहलले किसानको आम्दानी वृद्धि गर्नाका साथै व्यावसायिक र दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने बताउनुभयो । बहुवर्षीय बाली खेतीमा किसानको आकर्षण रहेको र गाउँपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमले किसानलाई प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ । 

    ‘मैले पनि विगत ६ वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आएको छु । कागती खेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु’, उहाँले भन्नुभयो, ‘अरु साथीहरूले पनि राम्रो काम गरिरहेका छन् । आम्दानी पनि ठिकै छ ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु