आज: २०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

हिमाली भेगका मतदाताले सदरमुकाममा मतदान गर्न पाउने


  • आफ्नै खबर
  • २०८२ माघ २१, बुधबार मा प्रकाशित ४ हफ्ता अघि
  • ३० पाठक संख्या
  • दार्चुला/  जिल्लाको उत्तरीक्षेत्र तिङ्कर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको तिङ्करखेडामा भन्ने ठाउँमा मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।

    जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका उक्त क्षेत्रका मतदाताका लागि उनीहरू बसेकै ठाउँ तिङ्करखेडामा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको निर्वाचन कार्यालयका प्रमुख प्रदीप धामीले जानकारी दिनुभयो । 

    धामीले भन्नुभयो, ‘जाडोयाममा परिवारसहित बेँसीतिर झर्ने गरेका सो क्षेत्रका बासिन्दा वैशाख महिना लागेपछि मात्र तिङ्कर र छाङरू फर्किने गर्छन्, उनीहरू हाल बसेकै ठाउँ महाकाली नगरपालिका–४ खलङ्गा नजिकको तिङ्करखेडामा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न लागिएको छ ।’

    धामीले तिङ्करखेडास्थित व्यास गाउँपालिका-१ का तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालय गरी दुई मतदानस्थलको व्यवस्था गरिएको बताउनुभयो । 

    उहाँले थप्नुभयो, ‘प्रतिकूल मौसमको अवस्थामा गरिएको अनुरोधबमोजिम निर्वाचन आयोगले उक्त क्षेत्रका बासिन्दा बसेकै ठाउँमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न सहमति दिएको छ ।’ छाङरु गाउँमा तीन सय ७५ र तिङ्करमा दुई सय ४४ मतदाता छन् । ब्यास गाउँपालिका-१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ । 

    प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार नौ सय ४८ मतदाता छन् । मतदानका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र स्थापना गर्न लागिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु