आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

बाग्मतीको बहाव बढाउन धापड्यामको पानी छाडियो

पानी छाड्दा बाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा

  • आफ्नै खबर
  • २०८२ फागुन १, शुक्रबार मा प्रकाशित ४ घण्टा अघि
  • ७६ पाठक संख्या
  • काठमाडौँ/  यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छोड्न थालिएको हो ।

    अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ ।

    पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ ।

    आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिनुभयो ।

    ‘धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ । तसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ’, उहाँले भन्नुभयो, ‘विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ ।’ शिवरात्रिका अवसरमा देशविदेशबाट हजारौँ भक्तजन पशुपतिनाथ दर्शन तथा वाग्मतीमा स्नानका लागि आउने गर्दछन् ।

    प्रतिसेकेण्ड चार सय लिटर पानी छाडियो
    समितिका अनुसार बाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी तीन दिनसम्म छाडिनेछ ।

    ‘पानी छाड्दा बाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ’, नेपालले भन्नुभयो, ‘बागमती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।’

    केयुकेएलसँग समन्वय
    महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा पानीको बहाव बढाउने तयारीअन्तर्गत सम्बन्धित निकायबीच समन्वय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई सुन्दरीजल पानी
    प्रशोधन शाखामार्फत नदीमा पानी प्रवाह गरिदिन पत्राचार गरिएको छ । यसअघि २०८१ जेठ २३ गते विभिन्न चाडपर्वका अवसरमा बाग्मतीमा पानी प्रवाह गर्ने विषयमा सरोकारवाला निकायको बैठकले निर्णय गरेको थियो ।

    बाग्मती सुधार आयोजना प्रमुख शम्भुराज पण्डितका अनुसार धापड्यामबाट हालसम्म केयुकेएल सुन्दरीजल शाखामा ३२ करोड लिटर पानी प्रवाह गरिएको छ । केयुकेएलबाट विभिन्न चाडपर्वमा एकमुष्ठ २७ करोड ९८ लाख लिटर पानी शोधभर्ना भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।

    पण्डितका अनुसार बागमती नदीमा प्रवाह गरिने पानीको हिसाब पछि मिलान गर्नेगरी महाशिवरात्रिका अवसरमा चार सय लिटर प्रतिसेकेन्डका दरले प्रवाह गर्न आग्रह गरिएको छ । उहाँले भन्नुभयो, ‘आज बेलुकी ६ः०० बजेदेखि आइतबार बेलुकी ६ः०० बजेसम्म नदीमा पानी प्रवाह गर्न आग्रह गरेका छौँ ।’

    पाँच करोड लिटरसम्म पानी छाड्ने तयारी
    महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा करिब पाँच करोड लिटरसम्म पानी प्रवाह गर्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गत सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बुढाथोकीले आज साँझ ६ बजेदेखि पानी छोड्न सुरु गरिने जानकारी दिनुभयो ।

    ‘आधिकारिक रूपमा आयोजनाले बाग्मती नदीमा पानी छोड्नका लागि माग गर्दै पत्राचार गरेको छ’, उहाँले भन्नुभयो, ‘त्यसअनुसार मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट आइतबार साँझ ६ बजेसम्म करिब ५ करोड लिटर छाड्ने तयारी छ ।’

    गत वर्षको मनसुन अवधिमा मेलम्ची आयोजना अस्थायी रूपमा बन्द हुँदा धापड्यामको पानी सापटी लिइएको थियो । तर, यस वर्ष केयुकेएलले धापड्यामबाट सापटी पानी नलिएको जनाइएको छ । छठजस्ता महत्वपूर्ण पर्वमा पनि मेलम्चीको पानी बाग्मतीमा प्रवाह गरी बहाव बढाउन सहयोग गर्दै आएको छ । गत वर्षको महाशिवरात्रिमा पनि मेलम्ची आयोजनाले बाग्मतीमा पानी प्रवाह गरेको थियो ।

    उपभोक्तालाई असर नपर्ने
    प्रमुख बुढाथोकीले बाग्मतीमा पानी प्रवाह गर्दा उपत्यकाका उपभोक्तालाई कुनै असर नपर्ने बताउनुभयो । ‘हामीले दैनिक उपत्यकाका उपभोक्तालाई १७ करोड लिटर पानी वितरण गर्दै आएका छौँ । बाग्मती नदीमा पानी प्रवाह गरे पनि उपभोक्तालाई असर पर्दैन’, उहाँले भन्नुभयो, ‘किनकी हामी मेलम्ची आयोजनाबाट नै बढी पानी प्रशोधन केन्द्रमा ल्याउनेछौँ ।’

    धापड्यामको महत्व
    काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धापड्याम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिलेसमेत महत्वपूर्ण रहेको छ । ड्यामले बाग्मती नदीमा पानीको बहाव बढाएर नदीको सौन्दर्यता कायम गर्न सहयोग पुगेको समितिले जनाएको छ ।

    ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको समितिले जनाएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशकअघि सुरु भएको थियो भने तीन वर्षअघि यसको उद्घाटन गरिएको हो ।

    ड्याममा वर्षाका समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदका समयमा बाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड चार सय लिटरको दरले बाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य थियो ।

    एशियाली विकास बैङ्कको ८९ करोड रुपैयाँ सहयोगमा निर्माण भएको जलाशययुक्त ड्यामबाट मुख्य पर्वमा बाग्मती नदीमा पानी छाडिँदै आइएको छ । ड्यामको लम्बाइ एक सय ७४.७ मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।

    ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रूपमा बाग्मती नदीमा छाड्ने सरकारको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ । नदीको पानीको बहाव बढाउन आवश्यकताअनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रूपमा पानी छाड्न नसकिएको उपनिर्देशक नेपालले बताउनुभयो ।

    ‘हिउँदमा बाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ । तर, त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ’, उहाँले भन्नुभयो, ‘परिणाम देखिनका लागि प्रतिसेकेण्ड चार सय लिटर पानी आवश्यक पर्छ । तर, त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौँ ।’

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु