आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु

गुल्मी र बागलुङमा पटक पटक हुने विद्युत अवरोध सुधार हुने अपेक्षा

  • आफ्नै खबर
  • २०८२ फागुन ३, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • ५५ पाठक संख्या
  • गुल्मी/  नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ ।

    ‘बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।

    गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं. ७ को उनाएचौरस्थित तम्घास सबस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

    उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

    प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका-३, ४ र ५, इस्मा गाउँपालिका-२ तथा मुसीकोट नगरपालिका-१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका-२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका-२ बुर्तिबाङसम्म विस्तार गरिएको उहाँले बताउनुभयो ।

    प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ ।

    खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

    प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो । आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

    यसअघि बुटवलमा रहेको सबस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटकपटक सेवा अवरुद्ध हुने गरेको थियो । नयाँ प्रसारणलाइन र सबस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु