आज: २०८२ फागुन १४, बिहिबार | Thu, 26, Feb, 2026

हुम्लाका १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता


  • आफ्नै खबर
  • २०८२ फागुन १३, बुधबार मा प्रकाशित १५ घण्टा अघि
  • ७२ पाठक संख्या
  • हुम्ला/  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् ।

    जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार तीन सय ७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका-३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ, जहाँ सडक सञ्जालले छोएको छैन ।

    सर्केगाड गाउँपालिकामा तीन सयभन्दा कम मतदाता रहेका तीनवटा मतदान केन्द्र छन् । वडा नं. १ को देबल आधारभूत विद्यालय तुम्चमा दुई सय ४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा दुई सय १६ र नीलकण्ठ प्रावि फुचामा दुई सय ८८ जना मतदाता रहेका निर्वाचन अधिकारी रोकायाले बताउनुभयो ।

    त्यस्तै, चङ्खेली गाउँपालिकामा पनि तीनवटै मतदान केन्द्र छन् । जसमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा दुई सय ४२ मतदाता छन् । उक्त गाउँमा जान पनि गाउँपालिकाको केन्द्रबाट पैदलयात्रा गर्दा पूरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन । रारा आधारभूत विद्यालय मेखालामा एक सय ४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा दुई सय १२ जना मतदाता छन् ।

    अन्य आठवटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा छन् । सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि तिलगाउँमा एक सय ३२, भृकुटी प्रावि जाँङगाउँमा दुई सय ४७ र सुनखानी प्रावि हल्जीमा दुई सय ९३ मतदाता छन् । तर यी तिनै गाउँमा यतिबेला १५/२० जनाबाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमै रहेका छन् ।

    यता अरनिको प्रावि यारीमा एक सय ९५, खासरपानी प्रावि मुचुमा दुई सय ३४, हिमालय प्रावि चालामा एक सय ५९, महाबौद्ध मावि याल्वाङमा दुई सय ८० र नमोडोछोमु प्रावि ताङ्घीनमा एक सय ५९ मतदाता छन् ।

    यी सबै मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ भने केही मतदान केन्द्रमा जान यारीन्यालुको लेकमा भएको हिउँका कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो  । उहाँका अनुसार स्काभेटरमार्फत हिउँ पन्छाउने काम सुरु भए पनि असम्भवजस्तै देखिएको छ ।

    जिल्लाको सबैभन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामिक विद्यालय लालिमा एक हजार ६३ मतदाता रहेका छन् । त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा नौ सय ७७ र कोट मावि रोडीकोटमा नौ सय ३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु