आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी


  • आफ्नै खबर
  • २०८२ फागुन २०, बुधबार मा प्रकाशित ३ घण्टा अघि
  • ६४ पाठक संख्या
  • काठमाडौँ/  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकेको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।

    भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।

    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूरा भएको जनाएको हो ।

    ‘निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो’, कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, ‘आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र नभइ लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो ।’

    पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरूको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पार्नुभयो ।

    गणना सुरु भएको २४ घन्टाभित्र परिणाम
    आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलन गरिने र अन्य स्थानको गाडीबाट सङ्कलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।

    मतपत्र र मतपेटिकाको सुरक्षा र सङ्कलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘मतपेटिका सङ्कलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै सङ्कलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शङ्का गरिरहनु पर्दैन ।’
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु