आज: २०८२ फागुन २५, सोमबार | Mon, 09, Mar, 2026

उर्जा बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल


  • आफ्नै खबर
  • २०८२ फागुन २५, सोमबार मा प्रकाशित ९ घण्टा अघि
  • ५८ पाठक संख्या
  • काठमाडौँ/  मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन् । फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ ।

    फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो अवस्थासहित त्यसको विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे समीक्षा गरिने जनाएको छ । पछिल्ला दिनहरूमा अमेरिका–इजरायल र इरानबीचको युद्ध तीव्र हुँदै जाँदा मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने आशङ्का बढेको छ ।

    यही कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ र धेरै देशका शेयर बजारहरूमा पनि अस्थिरता देखिएको छ ।

    फ्रान्सले हाल प्रमुख औद्योगिक देशहरू (जी सेभेन) को घुम्ती अध्यक्षता गरिरहेको छ । जसमा क्यानडा, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका पनि सदस्य रहेका छन् । ऊर्जा सङ्कटको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्रमार्फत संयुक्त रूपमा रणनीतिक तेल भण्डार बजारमा ल्याउने विषयमा पनि विचार गरिरहेका छन् ।

    जस अनुसार यी देशहरूले ४० करोड व्यारेल तेल बजारमा पठाउने तयारी गरिरहेका छन् । यसले विश्वमा इन्धनको अभावलाई केही कम गर्ने अनुमानका साथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही सामान्य अवस्थामा आएको छ । तर, वृद्धि भने जारी छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल मूल्य बढ्नु इरानको आणविक खतरा हटाउनका लागि तिर्नुपर्ने सानो मूल्य भएको बताउनुभएको छ । सन् १९७३ को तेल सङ्कटपछि ऊर्जा आपूर्ति अवरोधको अवस्थामा सदस्य देशहरूबीच समन्वय गरेर प्रतिक्रिया दिन अन्तर्राष्ट्रिय ऊर्जा सहयोग संयन्त्र स्थापना गरिएको थियो ।

    ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सदस्य देशहरूले कम्तीमा ९० दिनको आयात बराबरको आपतकालीन तेल भण्डार राख्ने व्यवस्था रहेको छ । जसलाई आवश्यकता परे बजार स्थिर बनाउन प्रयोग गर्न सकिन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु