आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सुरु भयो अकबरेको मौसम, बढ्यो किसानको व्यस्तता


  • आफ्नै खबर
  • २०८२ फागुन ३०, शनिबार मा प्रकाशित ४ घण्टा अघि
  • ५५ पाठक संख्या
  • भोजपुर/  भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् ।

    यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् ।

    भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यवसायिक रूपमा खेती गर्दै आएका छन् ।

    यहाँ सडक पहुँच विस्तार भएसँगै उत्पादन भएको खुर्सानी बजारसम्म पुर्याउन सहज भएको छ । यही कारणले पनि हरेक वर्ष व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको किसानहरूको भनाइ छ ।

    भोजपुरमा विशेषगरी पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ । यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन् ।

    टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खुर्सानीखेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो । पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु