आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

मधेसमा आँप उत्पादन बढ्ने


  • आफ्नै खबर
  • २०८२ चैत्र २, सोमबार मा प्रकाशित १0 घण्टा अघि
  • ५६ पाठक संख्या
  • जनकपुरधाम/  मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मञ्जरी अर्थात् फुल लागेको छ ।

    चैत/वैशाखमा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको प्रभाव नपरे यस वर्ष मधेसमा आँप उत्पादन उल्लेख्य हुने सम्भावना छ । आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी आँप उत्पादन हुने मधेस प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

    यस वर्ष मधेसका किसानले करिब ३० हजार आठ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन् । मौसमअनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने उहाँले बताउनुभयो ।

    मधेसका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका हिसाबले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    गत आर्थिक वर्षमा मधेसका किसानले ३० हजार ६ सय हेक्टरमा आँप खेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार नौ सय ६२ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

    मधेसका किसानले विशेषगरी मालदह, बम्बै, कलकत्तिया, अम्रपाली र दशहरी  नकुअवा, केरवा, विजु, सिपियालगायत आँपको खेती गर्दै आएका छन् । यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौँलगायत देशका प्रमुख सहरमा पनि बिक्री हुने गरेको छ । यस वर्ष बोटभरि लागेको मञ्जरीले किसानलाई उत्साहित बनाएको छ ।

    बगैँचामा यति धेरै फूल देखिएपछि व्यापारी ठेक्कामा लिन गाउँगाउँ पुग्न थालेको किसान बिल्टु महतोले जानकारी दिनुभयो । आँप खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पछिल्ला वर्षमा मधेसका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । कृषि विज्ञ भगिरथ यादवका अनुसार बगैँचा व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिनसके मधेसमा आँप उत्पादनमा अझै वृद्धि हुने सम्भावना छ ।

    नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य मात्रामा हुँदै आएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु आर्थिक वर्षको कात्तिकसम्म भारतबाट भिठामोड नाका हुँदै तीन सय ५९ मेट्रिक टन आँप नेपाल भित्रिएको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु