आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

२७ सय रुपैयाँमा स्थापना भएको नर्सरीले गर्छ करोडको कारोबार

इमानदारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ ।

  • आफ्नै खबर
  • २०८२ चैत्र ३, मंगलबार मा प्रकाशित १२ घण्टा अघि
  • १०६ पाठक संख्या
  • झापा/  कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो ।

    अभावको तुवाँलोले घेरिएको त्यो सङ्घर्षकालमा उहाँले कति रात भोकै त कति रात अरूको मजदुरी गरेर बिताउनुपर्यो । तर, आज उही पौरखी भीमबहादुरको जीवनको तस्बिर बदलिएको छ । हिजो अर्काको मजदुरी गर्ने भीमबहादुर आज सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।

    सानैदेखिको गरिखाने यही सोचले आज उहाँलाई वार्षिक करोडको कारोबार गर्ने उद्यमी बनाएको हो । भृकुटीको सरस्वती टोलमा उहाँको गणेश नर्सरी उद्योग सञ्चालनमा छ । जहाँ पाँच सयभन्दा बढी प्रजातिका बिरुवा उत्पादन हुन्छन् । झापादेखि चितवनसम्मको बजारमा यही नर्सरीका बिरुवा बिक्री हुने गरेको छ ।

    २०७३ सालमा आफ्नो खल्तीमा भएको मात्र दुई हजार सात सय रुपैयाँको सानो पुँजीबाट नर्सरी व्यवसायको श्रीगणेश गरेको भीमबहादुरले बताउनुभयो । सीमित स्रोत र साधनका बाबजुद उहाँको दृढसङ्कल्पले आकार लिँदै गयो । अहिले नर्सरी व्यवसायबाटै उहाँले वार्षिक करोडभन्दा बढीको आर्थिक कारोबार गर्नुहुन्छ । उद्यम गरेरै उहाँले सुविधाजनक घर र घडेरी जोड्नुभएको छ ।

    ‘आफ्नै पौरखमा बाँच्नु पर्छ भन्ने सानैदेखिको मेरो भावना थियो’, उहाँ भन्नुहुन्छ, ‘सानो छँदा कुखुरा व्यापार गरेर घरखर्च चलाउन सघाउँथेँ । अहिले नर्सरी उद्योग र सुपारी प्रशोधन उद्योग चलाउँदैछु । पहिले अरूकहाँ मजदुरी पनि गर्थेँ । अहिले अरुले मेरो उद्योगमा रोजगारी पाइरहनुभएको छ ।’

    झापा सुपारीखेतीको उर्वर भूमि भएकाले उहाँले सुपारीका बिरुवा उत्पादनलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । झापाको गौरादह र चितवनको रत्ननगरमा नर्सरीका शाखा फैलिएका छन् ।

    उहाँले सुपारी प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । गाउँमा घरैपिच्छे सुपारी फलेका छन् । आफूले किसानबाट खरिद गरेको सुपारी उद्योगमा प्रशोधन गरेर बिक्री गर्दै आएको बताउनुभयो । सुपारी उद्योगमा समेत स्थानीयले मनग्य रोजगारी पाएका छन् ।

    भीमबहादुरको सफलता मेहनतको जगमा उभिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण सानै उमेरमा काँधमा जिम्मेवारी बोक्नुपर्‍यो । कहिले अरूको खेतमा पसिना बगाउने त कहिले गाउँका कुखुरा, गाई र बाख्रा डोहोर्‍याउँदै बजार पुर्याएर बेच्ने उहाँको दैनिकी थियो । स्थानीय हटियामा गाईबाख्राका व्यापार गर्दागर्दै उहाँले व्यापारको कखरा सिक्नुभयो ।

    त्यतिमात्र होइन, उहाँले युवा उमेरमा विवेचना दैनिक पत्रिका वितरण गर्ने ‘हकर’ को कामसमेत गर्नुभयो । कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उहाँ पूर्ण रूपमा स्वरोजगारको खोजीमा लाग्नुभयो । शिव शक्ति ग्रुप अफ कम्पनीमा काम गर्दा उहाँले कृषि क्षेत्रको व्यावसायिक ज्ञान र विज्ञता हासिल गर्नुभयो, जसले उहाँको जीवनलाई नयाँ मोड दियो ।

    ‘इमानदारी, मेहनत र लगनशीलताका साथ काम गर्यो भने सफलता टाढा हुँदोरहेनछ’, उहाँको सफलतालाई नजिकबाट नियालिरहनुभएका नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ भन्नुहुन्छ, ‘आफ्नो अनुभव र सीपलाई सही ठाउँमा प्रयोग गर्न सके गाउँमै सुन फलाउन सकिँदोरहेछ । विदेश जानु पर्दोरहेनछ भन्ने उहाँले प्रमाणित गरिदिनुभयो ।’

    भीमबहादुरको यो व्यावसायिक फड्कोमा उहाँकी धर्मपत्नी तुलसी भट्टराईको बलियो साथ छ । ‘मैले कहिले पनि उहाँलाई विदेश गएर धन कमाउनुहोस् भनिनँ’, भीमबहादुरकी पत्नी तुलसी भन्नुहुन्छ, ‘उहाँमा अल्छी भावना कहिल्यै पाइनँ । कामलाई ठूलो र सानो भनेर छुट्याउनुहुन्न । उहाँलाई देखेर गाउँका युवाहरू व्यवसायमा लाग्न थालेका छन् ।’

    भीमबहादुरले आफ्नो नर्सरी र सुपारी प्रशोधन उद्योगमा २० जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिनुभएको छ । व्यवसायसँगै भीमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

    भानु माध्यमिक विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ भने गाउँमा गणेश मन्दिर निर्माणका लागि जग्गा र आर्थिक सहयोग जुटाउनुभएको छ । भृकुटी गाउँमा सुविधासम्पन्न पार्टी प्यालेस निर्माणको अन्तिम तयारीमा जुट्नुभएको छ ।

    रोजगारीको खोजीमा खाडी मुलुक पस्ने युवाहरूको लहरका बीच भीमबहादुर स्वदेशमै पसिना बगाएर सफल बनेको उदाहरण हुनुहुन्छ । मेहनत, धैर्य र निरन्तर प्रयासले कसरी एउटा सामान्य मजदुरलाई सफल उद्यमी बनाउन सक्छ भन्ने कुराको जीवन्त पात्र हुनुहुन्छ भीमबहादुर ।

    –रासस
     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु