
काठमाडौँ/ छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतार नआउनु भन्ने सुझाव दिइरहेछन् । तर, राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगई सुख छैन ।
युद्धको परवाह नगरी उहाँ दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।’
उहाँ घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उहाँले सुनाउनुभयो । होटलमा सेफको जागीर गरेर उहाँले मासिक दुई लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । जुन रकम उहाँले पुरै घर पठाउनुहुन्छ ।
गाउँमा बस्दा जति सुकै मेहनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उहाँले सुनाउनुभयो । यही मार्च २५ तारिखमा कतार प्रस्थान गर्न लाग्नुभएका उहाँले भन्नुभयो, ‘जे त होला भनेर जाँदैछु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।’
युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजगारमा जाने युवाहरूको बाध्यता छ भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतीक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उहाँकी श्रीमती रुमा लामाले बताउनुभयो ।
छोराछोरीसहित काठमाडौँमा बस्नुभएकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमानलाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ ? बाध्यताले त्यही बस्नुभएको छ ।’ रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उहाँ खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाउनुभयो ।
साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी हुनुभयो । श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर । गरिबलाई जता सुकै डरै डर छ ।’
यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् ।
कुवेतको एक क्याफेमा बारिष्टा रहेका विमल (नाम परिवर्तन) राई मिलेसम्म स्वदेश फर्किन चाहनुहुन्छ । अहिले सबै सामान्य जस्तो देखिन्छ । तर, एअरपोर्ट र तेल खानी तिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको बताउनुहुन्छ । ‘फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु’, उहाँ भन्नुहुन्छ, ‘कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक सङ्कट देखिन थालेको छ ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका (पश्चिम एशिया युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेबिया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।
वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशिक रोजगारमा पुनः जाने श्रमिकको चाप बढेको छ । विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार एक सयसम्म रहेको जानकारी दिनुभयो ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले युद्ध क्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ । उहाँका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ ।
श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको माग अनुसार परराष्ट्र मन्त्रालयले चैत ३ मा सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरिएको जनाएको छ ।
विज्ञप्ति नै जारी गरेर मन्त्रालयले स्थगन भएका मुलुकमध्ये साउदी अरेबिया, युएइ, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यद्यपी सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान देशमा भने श्रम स्वीकृति स्थगननै रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनः जान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनः विदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उहाँले सुनाउनुभयो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छुट्टीमा विदेशबाट घर आएका नेपाली कामदारले समयमा जान नसेकमा रोजगार गुम्ने हुँदा उहाँहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको बताउनुभयो ।
प्रवक्ता क्षेत्रीले युद्ध प्रभावित क्षेत्रमा रहनुभएका नेपाली कामदारले अति आवश्यक भए मात्रै घर आउने नभए जहाँ हुनुहुन्छ । त्यही सुरक्षित रहन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अवस्था सामान्य हुँदै छ । जहाँ हो त्यही सुरक्षित बस्न आग्रह गरेका छौँ ।’ परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार १७ लाख २९ हजार नेपाली खाडी मुलुकमा श्रमिक छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस