आज: २०८२ चैत्र ११, बुधबार | Wed, 25, Mar, 2026

भेटियो ५० वटा हराएका मोटरसाइकल र स्कुटर


  • आफ्नै खबर
  • २०८२ चैत्र ११, बुधबार ९ घण्टा अघि
  • ८७ पाठक संख्या
  • काठमाडौँ/  नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ मोटरसाइकल र २३ स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभयो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा ती सवारीसाधन फेला पारिएका थिए ।

    काठमाडौँको काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, वसन्तपुर, कालीमाटी, बौद्ध, गोकर्ण, मूलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायतका स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको बताइएको छ ।

    आज बुझाइएका ५० ओटासहित गत साउनयता तीन सय ४७ ओटा सवारीसाधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीमा संलग्न ३१ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु