आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

गुडिरहेको एम्बुलेन्समै उपचार भएपछि…


  • आफ्नै खबर
  • २०८२ चैत्र १२, बिहिबार ११ घण्टा अघि
  • ६५ पाठक संख्या
  • दैलेख/  दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर, दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका आठबीस नगरपालिका–७ गैराखेतका एक युवकको ज्यान जोगिएको छ ।

    अस्पतालका इन्चार्ज डा. मनोज विश्वकर्माको टोलीले सदरमुकामदेखि एक सय १० किलोमिटर टाढाको उक्त स्थानमा पुगेर गुडिरहेको एम्बुलेन्सभित्रै आपत्कालीन उपचार गरेको हो । २७ वर्षीय जीवन चन्दलाई बुधबार राति ३१ वर्षीय जिराबहादुर चन्दले धारिलो हतियार प्रहार गरी नाडी नै छिनाल्ने प्रयास गरेका थिए ।

    मदिरा सेवन गरी भएको सामान्य विवाद र पुरानो रिसइबीका कारण उक्त घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल सदरमुकामदेखि टाढा र सञ्चार सम्पर्क विहीन क्षेत्रमा रहेकाले घाइतेलाई समयमै अस्पताल पुर्याउन चुनौतीपूर्ण थियो ।

    घाइतेको अवस्था नाजुक रहेको र अत्यधिक रक्तस्राव भइरहेको जानकारी पाउनासाथ डा. विश्वकर्माको टोली बिरामी कुरेर बस्नुको साटो आफैँ औषधि र उपकरणसहित घटनास्थलतर्फ लागेका थिए । डा. विश्वकर्माको टोलीले साततलाको पुलबजारमा एम्बुलेन्स भेटेपछि उक्त एम्बुलेन्समा चढी गुडिरहेकै अवस्थामा प्राथमिक शल्यक्रियात्मक उपचार गरी रक्तस्राव रोक्न सफल भएको थियो ।

    डा. विश्वकर्माले भन्नुभयो, ‘घाइते बोल्न सक्ने अवस्थामा थिएनन्, गम्भीर चोटले गर्दा रगत धेरै बगिसकेको थियो । यदि हामी बाटोमै नपुगेको भए रक्तअल्पताका कारण बाटोमै बिरामीको ज्यान जान सक्ने जोखिम थियो ।’

    चिकित्सकको यो कदमले घाइतेको अवस्था स्थिर भएपछि उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।

    कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. ईश्वर बलामीका अनुसार बाटोमा डा. विश्वकर्माको टोलीले गरेको उपचारका कारण बिरामीको ज्यान बचाउन ठुलो मद्दत पुगेको छ । यद्यपि, चोट गहिरो भएकाले थप विशेषज्ञ उपचारका लागि घाइतेलाई काठमाडौँ ‘रिफर’ गरिएको उहाँले बताउनुभयो ।

    घटनाका अभियुक्त जिराबहादुर चन्दको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार फरार अभियुक्तको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

    सरकारी अस्पतालका चिकित्सकले देखाएको यो व्यवसायिक धर्म र मानवीय संवेदनाको स्थानीयस्तरमा उच्च प्रशंसा भएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु