
काठमाडौँ/ एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरूको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, दुई सय २६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरू मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरूको निःशुल्क उपचार गरिएको हो ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले सङ्घद्वारा नेपाल सरकार तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूको सहयोग तथा अस्पतालहरूको आन्तरिक श्रोतबाट निःशुल्क उपचार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०२५ मा सङ्घको सञ्जाल मार्फत ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीहरूको आँखा परीक्षण गरि २ लाख ६६ हजार चार सय एक जनाको शल्यक्रिया गरिएको छ ।
कार्यकारी निर्देशक डा. मिश्रले भन्नुभयो, ‘सन् २०२५ मा सङ्घद्वारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्र तथा विभिन्न वाह्य कार्यक्रमहरू मार्फत २५ हजार ५ सय ६५ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।’
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्याउने दायित्व र निर्देशन प्राप्त भए अनुरूप स्वयम्सेवक तथा कर्मचारीहरू मार्फत सेवा दिइरहेको छ ।
जसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवं दाताहरूको साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज, सर्वसुलभ र गुणस्तरीय उपचारमा पहुँच पुर्याउन सङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घ अन्तर्गतका अस्पतालहरूले प्रवाह गर्ने सेवाकै कारण छिमेकी मुलुक भारत, बङ्गलादेश, भुटान लगायतका मुलुकका नागरिकहरू समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘एक वर्ष अर्थात् सन् २०२५ मा मात्र सङ्घको सञ्जाल मार्फत ९ लाख ११ हजार नौ सय ८० जना अन्य देशका नागरिकहरूको आँखा परीक्षण गरि १ लाख ५३ हजार ८६ बिरामीहरूको शल्यक्रिया गरिएको छ । यसमा अधिकांश भारतीय नागरिकहरू छन् ।’
उहाँले नेपालमा उपलब्ध उच्चस्तरीय आँखा उपचार सेवाका कारण विदेशी नागरिकहरू समेत उपचारका लागि नेपाल आउने क्रम निरन्तर बढिरहेको जानकारी दिनुभयो ।
महासचिव चन्दले भन्नुभयो, ‘अब हाम्रो प्राथमिकता अझ व्यापक रूपमा आम नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुँचमा ल्याउँदै नेपाललाई आँखा उपचारको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नु हो । यसका लागि नेपाल सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजना तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढिरहेका छौं ।’
सङ्घका अध्यक्ष प्राडा चेजराज पन्तले नेपालमा आँखा उपचारका क्षेत्रमा धेरै विकास भएतापनि अझै पनि धेरै नेपालीहरू आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालका ७ वटै प्रदेशलाई समेट्ने गरी सन् २०२१ मा गरिएको आरएएबी सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाका अभावमा सबैभन्दा बढि नागरिकहरू आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ । उहाँले भन्नुभयो, ‘सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ ।’
गैरसरकारी संस्थाका रुपमा २०३५ साल चैत्र १३ गते सङ्घको स्थापना भएको थियो । सङ्घ आफ्नो स्थापनाको ४७ वर्ष पार गरी ४८ वर्षमा प्रवेश गरेको छ । ४८ औँ नेत्रज्योति दिवसको सन्दर्भमा सङ्घले आँखा स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि, प्रविधिको प्रयोगमार्फत सेवा सुदृढीकरण तथा समुदायस्तरमा सचेतना विस्तारलाई अझ प्राथमिकतामा राखेको सङ्घले जनाएको छ ।
अध्यक्ष प्राडा पन्तले अब संघले आँखा उपचार सेवाको दायरालाई विस्तार गर्दे अन्धोपन न्यूनिकरणको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा अन्धोपनाको अवस्था ०.२८ प्रतिशत छ । यसलाई हामीले सन् २०३० सम्ममा ०.२० प्रतिशतमा झार्ने गरी काम गरिरहेका छौ ।’
सङ्घले रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण, समयमै परीक्षण र उपचारको पहुँच विस्तार, तथा बालबालिका, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहलाई लक्षित कार्यक्रमहरूलाई तीव्रता दिइने जनाएको छ ।
स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी ५ करोड २ लाख चार सय ८९ जना जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६ सय २४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस